2 Jun 2013

टर्कीमा बन्धक ९ नेपाली हिरासतमा

काठमाडौं, जेष्ठ २० - प्रतिमा बाँस्कोटा

दुबईबाट ग्रीस लैजाने बेला टर्कीमा अपहरणकारीको फन्दामा फरेका ९ नेपाली कामदार त्यहाँबाट उम्कन सफल भए पनि प्रहरीले उनीहरूलाई पक्राउ गरी हिरासतमा राखेको छ । अपहरणकारीकै फन्दामा रहेका अन्य चार जनाको अवस्था भने अज्ञात छ ।
केही दिनअघि टर्कीमा बन्धक बनाउने गिरोहबीच विवाद भएपछि भागेकामध्ये ९ जना नेपालीलाई हिरासतमा सुरक्षित राखिएको टर्की प्रहरीले जनाएको हो । टर्की प्रहरीले गैरकानुनी रूपमा त्यहाँ बसेको आरोपमा पक्राउ गरेर थुनामा राखेको टर्कीस्थित नेपाल कन्सुलरले जनाएको छ । कन्सुलरले महानगरीय प्रहरी अपराध महाशाखालाई पठाएको पत्रअनुसार चित्रबहादुर पुन, दलबहादुर बुढाथोकी, कुर्साङ तामाङ, तिलक पुन, झपेन्द्रबहादुर खड्का, मेघबहादुर छन्त्याल, वीरबहादुर पुन, तुलबहादुर घर्ती मगर र सुरेश पुन हिरासतमा छन् ।
उनीहरूलाई प्रक्रिया पूरा गरेर नेपाल र्फकन एक महिना लाग्ने टर्की प्रहरीले नेपाल कन्सुलरलाई जानकारी दिएको छ । बन्धक बनाइएका नेपाली रिहाइका लागि परिवारले त्यहाँ पैसा पठाउँदासमेत रिहा भएका थिएनन् । 'गैरकानुनी रूपमा यहाँ बसेकाले उनीहरू प्रहरी हिरासतमा छन्,' टर्की प्रहरीले नेपाल प्रहरीलाई पठाएको इमेलमा भनिएको छ, 'उनीहरूबारे चिन्ता लिनु पर्दैन ।' नेपालीलाई त्यसरी अपहरण गर्नेहरू टर्कीका नागरिक नभएको पनि दाबी गरिएको छ । त्यहाँ रहेका विनोद श्रेष्ठ, चक्र भन्ने राजन राउत, भुवन भण्डारी र मोहम्मद अन्सारीको अवस्था भने अझै थाहा हुन सकेको छैन ।
रोजगारीका लागि दुबई पुगेका नेपालीलाई त्यहाँ एजेन्टले ग्रीसमा राम्रो रोजगारी भएको लोभ देखाएर समुद्री, पैदल र अन्य बाटो अपनाएर टर्की पुर्‍याएका थिए । झन्डै एक महिना लगाएर उनीहरूलाई ग्रीस लैजाने भन्दै टर्की पुर्‍याएपछि कोठामा बन्धक बनाइएको थियो ।
उनीहरूले लुटिसकेपछि कुटपिट गर्दै घरमा फोनबाट फिरौती रकम लिने गरेका थिए । पटक-पटक गरेर घरबाट पैसा आइन्जेल एउटा व्यक्तिबाट १० देखि २० लाख रुपैयाँसम्म उठाउने गरेको प्रहरीले जनाएको छ । घरबाट पैसा पठाउन नसक्ने भनेपछि उनीहरूले अपहरित व्यक्तिको चिनजानमा रहेका नेपालीलाई बोलाउन लगाएपछि मात्र छाड्ने गरेका थिए । दलालको जालमा परेर टर्की पुगेका नेपालीको उद्धारका लागि टर्कीका लागि नेपाली वाणिज्यदूतमार्फत कुरा भइरहेको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी विजयलाल कायस्थले बताए ।
टर्कीमा बन्धक बनाएर फिरौती रकम लिएपछि पनि बन्धक बनाइएका रोल्पाका झपेन्द्र खड्काको परिवारले प्रहरीमा उजुरी दिएपछि अपहरणको रहस्य खुलेको हो । टर्कर्ीमा बन्धक बनाएर राख्नेलाई कुटपिट गरी १६ नेपाली त्यो कोठा छाडेर भागेको खबर आएको थियो । त्यहाँ झगडा भएपछि पुगेको टर्की प्रहरीले ९ नेपालीसहित अन्यलाई नियन्त्रणमा लिएको थियो ।
यसअघि पनि नेपालीलाई युरोको आस देखाएर रकम असुल्ने गरेको पाइएको छ । सन् २०१० यता दुबईदेखि टर्कीसम्म रहेको गिरोहले नेपालीसहित बंगलादेशी, पाकिस्तानी र श्रीलंकालीलाई लालचमा पारेर लैजाने गरेको पाइएको छ । नेपाल प्रहरीले इन्टरपोलमार्फत टर्की प्रहरीलाई पत्राचार गरेपछि बंगलादेश, पाकिस्तान र श्रीलंकन प्रहरीले आफ्नो नागरिकसमेत त्यहाँ रहेको जनाउँदै उद्धारका लागि संयुक्त पहल थाल्न अनुरोध गरेका छन् । यही गिरोहको जालमा परेर दुबईबाट टर्की पुगेका चार नेपाली भने स्वेदश फर्किसकेका छन् । बुटवलका अच्युत कँडेल, दोलखाका होम जिरेल, महेन्द्र कसाई र राजु नेपाली नेपाल आइसकेका छन् । 

कोरियामा पुन: नेपालीको मृत्यु

  सोल, जेष्ठ १९ -देवेन्द्र सम्बाहाम्फे


     कोरियामा एक नेपालीको मृत्यु भएको छ । ईपीएस कोटामार्फत् १३ महिनाअघि आएका भोजपुर चम्पेका लोकेन्द्र स्माली मगरको आइतबार बिहान मृत्यु भएको हो ।
लोकेन्द्रका साथी गोविन्द मगरले दिएको जानकारी अनुसार उनले शनिबार बेलुकी ५:३० बजेसम्म काम गरेका थिए । आइतबार बिदा भएकाले साथीसँग खाना खाएर राति ३ बजेतिर सुतेका उनी बिहान ६ बजे छटपटाइरहेको थाहा पाएपछि साथीहरुले पानी खुवाएका थिए । त्यसको केहीबेरमा नै उनको मृत्यु भएको हो ।
उनी इन्छन पुच्छनको एक फर्निचर कम्पनीका कामदार हुन् । त्यहाँ अर्का एक नेपाली कामदार पनि छन् । प्रारम्भिक अनुसन्धानबाट लोकेन्द्रको मृत्यु हृदयघातबाट भएको जनाइए पनि
बिस्तृत विवरण आएको छैन । हाल शव पुच्छनको उरी अस्पतालमा राखिएको छ । लोकेन्द्रका पत्नी र एक छोरी छन् ।
मृतकको परिवारलाई र सोलस्थित नेपाली दुतावासलाई साथीहरुले जानकारी दिइसकेका छन्  । यसै हप्तामात्र गिम्छन सहरमा धादिङकी गौरी तामाङ र गुल्मी हर्दिनेटा ६ का अर्जुन पन्तले झुन्डिएर आत्महत्या गरेका थिए ।

19 Nov 2010

30 Apr 2010